काठमाडौं, २५ माघ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । पहिलो खेलमै नेपालले एकपटकको विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र इंग्ल्यान्डबीच यो पहिलो टी-२० अन्तर्राष्ट्रिय भेट हो । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले विश्वकपका सबै खेलहरू यही रंगशालामा खेल्ने तालिका रहेको छ ।
नेपालले सन् २०१४ मा बंगलादेशबाट टी-२० विश्वकप यात्रा सुरु गरेको थियो । त्यसपछि १० वर्षको अन्तरालमा २०२४ मा दोस्रो पटक विश्वकप खेलेको नेपालले दक्षिण अफ्रिकाजस्तो बलियो टोलीलाई १ रनले पराजित गर्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतको ध्यान खिचेको थियो ।
यसपटक कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाल लगातार दोस्रो विश्वकप खेल्दैछ । साथै, तीव्र गतिका बलर सोमपाल कामी तीनवटा टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेर नयाँ कीर्तिमान स्थापित गरेका छन् ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले विश्वकपमा स्थान बनाएको हो ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।