काठमाडौं, २३ माघ । भारत र श्रीलङ्कामा यही फेब्रुअरी ७ (भोलि) देखि सुरु हुन लागेको आईसीसी पुरुष टि–२० विश्वकपको १०औँ संस्करणका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कमेन्टेटरहरूको नामावली सार्वजनिक गरेको छ ।
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को आगामी संस्करणको कमेन्ट्री प्यानलमा पूर्व महान खेलाडी र वर्तमान स्टारहरूको प्रभावशाली उपस्थिति रहनेछ ।
सर्वप्रसिद्ध कमेन्टेटरहरू रवि शास्त्री, नासिर हुसेन, इयान स्मिथ र इयान बिशप सूचीको शीर्षमा छन् । पूर्व टी–२० विश्वकप विजेता आरोन फिंच, दिनेश कार्तिक, कुमार संगकरा, सामुएल बैड्री, रोबिन उथप्पा र कार्लोस ब्राथवेट पनि कमेन्ट्री गर्नेछन् ।
ष्स्तै, वर्तमान खेलाडी र हालको आईसीसी विश्व टेस्ट च्याम्पियनशिप विजेता कप्तान टेम्बा बावुमा कमेन्ट्रीमा सहभागी हुनेछन् भने २०१४ टी–२० विश्वकप विजेता एन्जेलो म्याथ्युज पनि समावेश छन् । यी कमेन्टेटरहरूको आवाज ५५ खेलमा सुन्न पाइनेछ ।
आईसीसी.टीभीले यस विश्वकपको ‘वल्र्ड फिड’ सेवामार्फत विश्वभरका दर्शकलाई उच्च गुणस्तरको कभरेज प्रदान गर्ने सुनिश्चित गरेको छ । आईसीसी.टीभीको प्रसारणमा प्रि–म्याच शो, इनिङ्स अन्तराल कार्यक्रम, पोस्ट–म्याच र्याप–अप र दैनिक हाइलाइट शोहरू समावेश हुनेछन् । प्रतियोगिता मार्च ८ मा हुने फाइनल खेलसँगै समापन हुनेछ ।
टी–२० विश्वकप २०२६ का कमेन्टेटरहरूको सूची :
रवि शास्त्री, नासिर हुसेन, इयान स्मिथ, इयान बिसप, आरोन फिन्च, दिनेश कार्तिक, कुमार सङ्गाकरा, सामुएल बद्री, रोबिन उथप्पा, कार्लोस ब्राथवेट, इयोन मोर्गन, वसिम अक्रम, सुनील गावस्कर, म्याथ्यू हेडन, रमिज राजा, डेल स्टेन, माइकल एथरटन, वकार युनिस, साइमन डुल, सन पोलक, केटी मार्टिन, हर्ष भोगले, म्पुमेलेलो म्बाङ्वा, नताली जर्मनोस, ड्यानी मोरिसन, एलन विल्किन्स, इयान वार्ड, मार्क हावर्ड, निक नाइट, अतर अली खान, कास नायडू, बाजिद खान, रौनक कपुर, नियल ओ’ब्रायन, प्रेस्टन मोमसेन, एन्ड्रयू लियोनार्ड, रसेल अर्नोल्ड, रोशन अबेसिङ्घे, एन्जेलो म्याथ्युज र टेम्बा बाभुमा ।