काठमाडौं, २२ माघ । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तामा ताइवानलाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण मुद्दा भएको बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले ताइवानलाई हतियार आपूर्ति गर्दा सावधानी अपनाउन ट्रम्पलाई आग्रह गरेका थिए । साथै, उनले वासिङ्टनसँगको सम्बन्धलाई आफूले अत्यन्त महत्व दएको उल्लेख गर्दै दुबै पक्षले मतभेद समाधान गर्ने उपाय खोज्ने आशा व्यक्त गरेका छन् ।
ट्रम्पले भने उक्त फोनवार्तालाई उत्कृष्ट र लामो तथा गहन भएको बताएका छन् । बुधबारको यो वार्ता हालका महिनाहरूमा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरलगायत पश्चिमी मुलुकका नेताहरूले चीन भ्रमण गर्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका बेला भएको हो ।
ट्रम्प स्वयं पनि आगामी अप्रिलमा चीन भ्रमणमा जाने तयारीमा छन् । उनले उक्त भ्रमणलाई आफूले धेरै उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको बताएका छन् ।
यसैबीच, ट्रम्पका अनुसार बेइजिङले हाल खरिद गरिरहेको १ करोड २० लाख टन अमेरिकी सोयाबिन बढाएर २ करोड टन पु¥याउने विषयमा विचार गरिरहेको छ । “चीनसँगको सम्बन्ध र राष्ट्रपति सीसँगको मेरो व्यक्तिगत सम्बन्ध अत्यन्त राम्रो छ । यसलाई यथावत् राख्नु कति महत्वपूर्ण छ भन्ने कुरा हामी दुवैले बुझेका छौँ,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् ।
यसअघि नोभेम्बरमा पनि ट्रम्प र सीबीच टेलिफोन वार्ता भएको थियो । उक्त वार्तामा व्यापार, युक्रेनमाथि रुसको आक्रमण, फेन्टानिल तथा ताइवानलगायतका विषयमा छलफल भएको थियो ।
बुधबारको फोनवार्तामा ताइवान र सोयाबिनबाहेक युक्रेनमा जारी रुसको युद्ध, इरानको वर्तमान अवस्था तथा चीनले अमेरिकाबाट तेल र ग्यास खरिद गर्ने विषयमा पनि छलफल भएको ट्रम्पले बताएका छन् ।
ताइवानको विषयमा राष्ट्रपति सी जिनपिङले स्वशासित टापु ताइवान चीनको भूभाग भएको दाबी गर्दै बेइजिङले ताइवानको सार्वभौमिकता र भू–अखण्डता जोगाउनैपर्ने बताएका छन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले ताइवानलाई हतियार बिक्री गर्ने विषयमा अमेरिकाले सावधानी अपनाउनुपर्ने चेतावनी दिएका छन् । चीनले लामो समयदेखि ताइवानसँग पुनःएकीकरण गर्ने अडान राख्दै आएको छ ।
गत डिसेम्बरमा ट्रम्प प्रशासनले ताइवानलाई करिब ११ अर्ब डलर (८.२ अर्ब पाउन्ड) बराबरको ठूलो हतियार बिक्रीको घोषणा गरेको थियो । उक्त सम्झौतामा अत्याधुनिक रकेट लन्चर, स्वचालित होवित्जर तोप तथा विभिन्न प्रकारका मिसाइलहरू समावेश थिए ।
त्यसबेला बेइजिङले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने प्रयास भन्दै यस्तो कदमले ताइवान स्ट्रेट क्षेत्रमा खतरनाक र हिंसात्मक अवस्था तर्फको धकेलाइलाई तीव्र बनाउने चेतावनी दिएको थियो ।
ट्रम्पसँग फोनवार्ता हुनुभन्दा केही घण्टा अगाडि नै सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भर्चुअल बैठक गरेका थिए । सो बैठकमा बेइजिङ र मस्कोबीचको सम्बन्ध थप सुदृढ हुँदै गएकोमा दुवै नेताले सन्तोष व्यक्त गरेका थिए ।