काठमाडौं, २२ माघ । भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेलमा क्यानडासँग खेल्दै छ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । क्यानडासँग अभ्यास खेल खेलेपछि नेपाली क्रिकेट टोली मुम्बइ आउनेछ ।
फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै नेपालले आफ्नो विश्वकप यात्राको औपचारिक सुरुवात गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ । यी समूह चरणका सबै खेलहरू मुम्बईमा हुनेछन् ।
विश्वकपमा नेपाली टिम :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।