काठमाडौं, २० माघ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । पछिल्लो ६ महिनामा वैदेशिक अध्ययनका लागि करिब साढे ६७ अर्ब रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आव २०८२/८३ को ६ महिनामा वैदेशिक अध्ययनका लागि ६७ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत गत आवको पुससम्मको तुलनामा १८ दशमलव ८४ प्रतिशतले बढि हो । आव २०८१/८२ को सोही अवधिमा शिक्षातर्फको भ्रमण व्यय ५६ अर्ब ७७ करोड रुपैयाँ थियो ।
शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ५ अर्ब ५६ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको पुससम्मको तुलनामा ४ दशमलव २ प्रतिशतले बढि हो । अघिल्लो वर्षमा यस्तो खर्च १ खर्ब १ अर्ब ३३ करोड रहेको थियो ।
चालू आवको पुसमा खुद सेवा आय ४१ अर्ब ५५ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय २९ अर्ब ४७ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च शून्य दशमलव ८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत आवको पुससम्म यस्तो आय ४१ अर्ब ८८ करोड रहेको थियो ।