काठमाडौं, २० माघ । संयुक्त राज्य अमेरिका र भारतबीच एक ऐतिहासिक व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लाग्ने ‘ रेसिप्रोकल ट्यारिफ’ लाई २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा यो घोषणा गरिएको हो ।
राष्ट्रपति ट्रम्पले ‘मेड इन इन्डिया’ उत्पादनहरूमा आयात शुल्क घटाएर १८ प्रतिशत कायम गर्ने घोषणा गरेका छन् । यसको बदलामा भारतले पनि अमेरिकी उत्पादनहरूमा लाग्ने कर र अन्य अवरोधहरूलाई शून्य बनाउने दिशामा कदम चाल्नेछ ।
यस्तै, भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका ५०० अर्ब डलरभन्दा बढीको सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकासँग सहमति हुँदा आफू ‘हर्षित’ भएको मोदीले सामाजिक सञ्जाल ’एक्स’मा लेखेका छन् ।
मोदीसँग बिहान भएको टेलिफोन कुराकानीमा व्यापार र रुस–युक्रेन युद्धका विषय समेटिएको ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘उनी रुसबाट तेल खरिद बन्द गर्न र अमेरिका अनि सम्भवतः भेनेजुएलाबाट अझ बढी तेल किन्न सहमत भएका छन् ।’
यसैगरी, सोे घोषणाका लागि एक अर्ब ४० करोड जनताको तर्फबाट ट्रम्पलाई धन्यवाद दिँदै मोदीले एक्समा लेखेका छन्, ‘जब दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतान्त्रिक देशहरू मिलेर काम गर्छन् तब त्यसले हाम्रा जनतालाई फाइदा पु¥याउँछ र लाभ हुने पारस्परिक सहकार्यका व्यापक अवसरहरू ल्याउँछ ।’
अमेरिकाले भारतमाथि गत अगस्टमा ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा तिक्तता उत्पन्न थियो । त्यसबाहेक रुसबाट भारतले तेल आयात गर्ने गरेकोमा अमेरिकाले अतिरिक्त २५ प्रतिशत शुल्क लगाउँदै आएको थियो ।