काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम सम्पन्न भएको छ । बुधकार दूतावास परिसरमा आयोजित ‘नेपाली कलाकारको कुचीबाट पाकिस्तानका रङहरू’ नामक प्रदर्शनी सम्पन्न भएको हो ।
प्रदर्शनीमा नेपाली कलाकार विद्यता केसीका चित्रकला प्रस्तुत गरिएका थिए । यी कलाकृति उनले पाकिस्तान भ्रमण तथा त्यहाँको अनुभवबाट प्रेरित भएर बनाएकी हुन् । उनले पाकिस्तानमा आयोजना गरिएको दक्षिण एसियाली देशहरूका लागि कलाकार आवास कार्यक्रममा सहभागी हुँदाको अनुभव सुनाइन् । उनले पाकिस्तानका विभिन्न स्थानको यात्रा, त्यहाँको कला, संस्कृति र समाजले आफूलाई दिएको प्रेरणाबारे विस्तृत रूपमा बताइन् । उनका चित्रकलामा पाकिस्तानका सुन्दर भू–दृश्य, सांस्कृतिक सम्पदा र विविधता झल्किएको छ ।
केसीले आफूलाई यो अवसर प्रदान गरेकोमा पाकिस्तान सरकार र काठमाडौंस्थित पाकिस्तान दूतावासप्रति धन्यवाद व्यक्त गरिन् । साथै पाकिस्तानको कला, संस्कृति र त्यहाँ पाएको आतिथ्यप्रति प्रशंसा गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत हिज एक्सेलेन्सी अबरार हाश्मीले कलाकार केसीको सिर्जनात्मक कामको प्रशंसा गरे । उनले सांस्कृतिक, कूटनीति नेपाल–पाकिस्तान सम्बन्धको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै दुई देशबीचको आपसी समझदारी, इतिहास र संस्कृति प्रवद्र्धनमा दूतावास प्रतिबद्ध रहेको बताए ।
यसै अवसरमा आगामी २०२६ फेब्रुअरी ५ देखि ७ सम्म काठमाडौंमा पाकिस्तान फुड फेस्टिभल आयोजना हुने घोषणा पनि गरियो । उक्त फेस्टिभलमार्फत नेपाली जनताले पाकिस्तानको समृद्ध संस्कृति र परिकारहरूको स्वाद लिन पाउने विश्वास गरिएको छ ।
कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा पाकिस्तान दूतावासका मित्र–परिवारको उपस्थिति रहेको थियो ।