काठमाडौं, १५ माघ । एलोन मस्कको स्पेसएक्स कम्पनीले रकेट कम्पनीको मूल्य करिब १.५ ट्रिलियन डलर हुने गरी आईपीओ (शेयर सार्वजनिक बिक्री) गर्ने तयारी गरिरहेको छ । विश्वकै सबैभन्दा धनी धनी व्यक्ति मस्कको स्वामित्वमा रहेको यो कम्पनीको आईपीओ लन्च मस्कको जन्मदिनसँग मिलाउने योजना रहेको बताइएको छ ।
फाइनान्सियल टाइम्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले मध्य जुनतिर आईपीओ निष्कासन गर्ने प्रतीकात्मक मिति बनाएका छन् । त्यो समय जुपिटर र भेनस ग्रह एकअर्काको नजिक देखिने समय हुनेछ र त्यसको केही दिनपछि जुन २८ मा मस्क ५५ वर्ष पुग्नेछन् ।
एफटीले स्पेसएक्सले करिब ५० अर्ब डलर उठाउने योजना बनाएको पनि जनाएको छ, जसले कम्पनीको मूल्य १.५ ट्रिलियन डलर पुग्ने अनुमान छ । यसअघि कम्पनीले ८०० अर्ब डलर मूल्यांकनमा २५ अर्ब डलर उठाउने योजना बनाएको खबर आएको थियो ।
गत हप्ता कम्पनीले शेयर बिक्री प्रक्रियामा नेतृत्वका लागि बैंक अफ अमेरिका, जेपी मोर्गन, गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्ली जस्ता बैंकहरूलाई ल्याउने छलफल गरिरहेको पनि बताइएको छ ।
एलोन मस्क, जसको करिब ६८० अर्ब डलर सम्पत्ति छ, स्पेसएक्सको आईपीओ निष्कासन भएमा अझ बढ्ने अनुमान गरिएको छ । मस्कले गत वर्ष स्पेसएक्सको वार्षिक आम्दानी १५.५ अर्ब डलर हुने बताएका थिए, जसमा करिब १.१ अर्ब डलर नासासँगका सम्झौताबाट आउने बताइएको थियो । मस्कसँग स्पेसएक्सको करिब ४२ प्रतिशत स्वामित्व छ ।
साथै उनी इलेक्ट्रिक कार कम्पनी टेस्लाको करिब १७ प्रतिशत शेयर मालिक हुन् र सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पनि हुन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्स को तीन चौथाइभन्दा बढी हिस्सा पनि आफ्नै स्वामित्वमा राखेका छन् ।
स्पेसएक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट प्रयोग गरेर स्याटेलाइट प्रक्षेपण, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशमा सामग्री पठाउने जस्ता मिशनबाट आम्दानी गर्छ । साथै कम्पनीले स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा पनि सञ्चालन गरिरहेको छ ।
यदि आईपीओ अघि बढ्यो भने यो विश्वकै सबभन्दा ठूलो हुन सक्छ । यसअघि साउदी अरेम्कोले आईपीओ निष्कासन गरेर २०१९ मा करिब २९ अर्ब डलर उठाएको थियो, यद्यपि कम्पनीको कुल मूल्यांकन करिब १.७ ट्रिलियन डलर थियो ।
फाइनान्सियल टाइम्सका अनुसार स्पेसएक्सका प्रमुख वित्त अधिकारी ब्रेट जोन्सनले डिसेम्बरदेखि निजी लगानीकर्तासँग बैठक र भिडियो कन्फरेन्समार्फत २०२६ को मध्यतिर आईपीओ सम्भावना बारे छलफल गरिरहेका छन् ।
स्पेसएक्सको बढ्दो मूल्यांकन र स्टारलिंकको सफलताका कारण मस्क आईपीओ गर्ने विचारतर्फ आकर्षित भएको बताइएको छ ।