काठमाडौं, १२ माघ । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमै समेटियो । कप्तान इन्दु बर्माले सातौं ओभरको चौथो बलमा चोटग्रस्त भएपछि मैदान छाडेकी थिइन् ।
नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए । रुबिना क्षेत्रीले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ तथा ओलिभिया बेल र रचेल स्लेटरले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।
नेपालका लागि मनीषा उपाध्यायले ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ३ विकेट, सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिए ।
नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो ।