सरकारको पैसा लिएर ५२ जनाले गरेनन् फिर्ता, ब्याजसहित चुक्ता गर्न ३५ दिनको अल्टिमेटम

अनलाइनसमय |
११ माघ २०८२
सरकारको पैसा लिएर ५२ जनाले गरेनन् फिर्ता, ब्याजसहित चुक्ता गर्न ३५ दिनको अल्टिमेटम

काठमाडौं, ११ माघ । सरकारले सरकारी पैसा लिएर लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो ।

यसअघि पटक–पटक पत्राचार गर्दा र कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि सरकारले अन्तिम पटकका लागि यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूले कार्यालयमा सम्पर्क राखी आफूले बुझाउनुपर्ने सरकारी बाँकी रकम साँवा तथा नियमानुसार लाग्ने ब्याजसमेत सम्पूर्ण रकम चुक्ता गर्न अनुरोध गरिएको छ ।

उक्त अवधिभित्र पनि रकम नबुझाई बेवास्ता गरेमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ । यस क्रममा उनीहरूलाई आर्थिक वा सामाजिक हानि–नोक्सानी भएमा कार्यालय जिम्मेवार नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।

सरकारले सार्वजनिक गरेको ५२ जनाको सूचीमा निर्माण व्यवसायी, व्यापारिक फर्म, विभिन्न सरकारी विभागका कर्मचारी र वैदेशिक कम्पनीहरू समेत रहेका छन् ।

लोकप्रिय निर्माण सेवाका सुशील कार्की र सुनिल कार्की, धर्मेन्द्र निर्माण प्रालिका विष्णुकुमार डीसी, नताशा निर्माण सेवाका ईश्वर रिमाल, केआर कन्सट्रक्सन प्रालिका अभिनाश राना, आर्क कन्स्ट्रक्सनकी राधा कुमारी मल्ल सार्वजनिक सूचीमा रहेका छन् । त्यस्तै, सिरुवा कन्स्ट्रक्सन कम्पनीका ऋषिराम ढुंगाना, अनन्त सिंखडा, एमएम कन्स्ट्रक्सनका सञ्चालकहरू मुकुन्दप्रसाद गौतम, महादेव खिम्तीका रवि सिंह र राजनराज भण्डारी र ग्रीन वल्ड कन्स्ट्रक्सनका कृष्णगुप्तासमेतको तीन पुस्ते सार्वजनिक गरिएको हो ।

यसैगरी, अमेरिकाको टेक्सना रिसोर्सेस कम्पनी, युएईको एमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप र बीबीबी च्याम्पियन्स आयल कम्पनी जस्ता विदेशी कम्पनीहरूले पनि सरकारी रकम बुझाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस