मेची भन्सारबाट ६ महिनामा ९ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

अनलाइनसमय |
८ माघ २०८२
मेची भन्सारबाट ६ महिनामा ९ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, ८ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा मेची भन्सारबाट ९ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ भित्रिएको छ । भन्सार कार्यालयका अनुसार गत पुससम्ममा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी ९ अर्ब ७७ करोड दुई लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको हो ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख अर्थात ५ दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा बढेको छ ।

तथ्यांक अनुसार चालू आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा चार अर्ब ७२ करोड छ लाख मूल्य पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी तीन अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै सो अवधिमा एक अर्ब २४ करोड सात लाख मूल्य पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख मूल्य पर्ने चार हजार ११२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख मूल्य पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस