काठमाडौं, ६ माघ । मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि अन्तरिम सरकार प्रमुख सुशीला कार्कीमाथि नौ वटा मन्त्रालयको जिम्मेवारी आइपरेको छ । मन्त्रीहरूले भटाभट राजीनामा दिँदै चुनावी मैदानमा उत्रिँदा प्रधानमन्त्रीको काँधमा मन्त्रालयको गह्रौं भारी सम्हाल्ने जिम्मेवारी आइपरेको हो ।
ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता र शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । सुरुमा भौतिक पूर्वाधारसहित तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गरेर राजनीतिमा होमिएपछि राजीनामा दिएका थिए । त्यसयता सञ्चारमन्त्री जगदीश खरेल, खेलकु्दमन्त्री बब्लु गुप्ता, शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ भित्र निर्वाचन गराउने सर्तसहित पुस २७ प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले पुस ११ सम्म पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेर १५ सदस्यीय बनाएकी थिइन् । आफूसँग तीन मन्त्रालय राखेकी थिइन् ।
आगामी फगुन २१ गते हुने चुनावका लागि आज मनोनयन दर्ता भईरहेको छ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीबाट काठमाडौं– ३, जगदीश खरेल रास्वपाबाट ललितपुर २ र बब्लु गुप्ता रास्वपाबाटै सिराहा– १ मा चुनाब लड्दैछन् । आजै राजीनामा दिएका महावीर पुनले भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मन्त्रीहरूले चुनामा होमिदै राजनिामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैलाई तोक्न सिफारिस गरेकी छन् । सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार तोकेको उनको कार्यालयले जानकारी दिएको छ ।
’सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो,’ राष्ट्रपति कार्यालयको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अब प्रधानमन्त्री कार्कीमाथि २० मध्ये ९ वटा मन्त्रालयको जिम्मेवारी छ । कार्कीलाई अब प्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, सञ्चार, खेलकु्द शिक्षा, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी रहेको छ ।