काठमाडौं, ६ माघ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२ दशमलव ६५ प्रतिशत बराबरको ३२ करोड रुपैयाँ मूल्यको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
उक्त सेयरमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडाका बासिन्दा तथा आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन् । सेयर निष्काशन वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत् उत्पादन अनुमतिपत्रको आधारमा गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ २० गतेसम्म थपिनेछ ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।