काठमाडमौं, ५ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष गत वर्षको तुलनामा धान उत्पादनमा २ लाख ५० हजार ३५० मेट्रिक टन कमी हुने जनाएको छ ।
मन्त्रालयले देशभर धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी आएका कारण यसवर्ष ५७ लाख ५ हजार १२६ मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ । गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा धान उत्पादनमा ४.२० प्रतिशतले कमी आएको हो ।
आव २०८१/८२ मा धान बालीको क्षेत्रफल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आवमा ३ दशमलव ८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टर क्षेत्रफल कायम रहेको प्रारम्भिक अनुमान छ ।
यसैगरी, उत्पादकत्व गत आवमा ४ दशमलव १९ मेट्रिक टन प्रति हेक्टर रहेकोमा चालू आवमा उत्पादकत्व १ दशमलव १६ प्रतिशतले घटेर ४ दशमलव १४ मेट्रिक टन प्रति हेक्टर हुन पुगेको मन्त्रालयले जनाएको छ ।
पहाडी क्षेत्रमा देखिएको बसाईसराई, युवाहरूको विदेश प्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि तथा तराई एवं शहरी क्षेत्रमा वृद्धि भैरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको छ ।
यसैगरी, मधेश प्रदेशमा विशेष गरि धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घट्दा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको मन्त्रालयले जनाएको छ ।
प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले भनेको छ, ‘यस आर्थिक वर्षमा उन्नत बीउ बिजन र मलखादको पर्याप्त उपलब्धता हुँदा हुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको छ । धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आवमा समग्र धान उत्पादनमा कमी आएको छ ।’