काठमाडौं, ५ माघ । चालू आर्थिक वर्ष (आव)को अर्धवार्षिक अवधिमा मेची भन्सार कार्यालयबाट ७ अर्बबढिको अलैँची निर्यात भएको छ । कार्यालयका अनुसार गत पुस मसान्तसम्ममा सात अर्ब १९ करोड ९५ लाख रुपैयाँ बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको हो ।
गत आव २०८१/८२ को पहिलो ६ महिनामाको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले बढेको छ । गत आवको साउनदेखि पुससम्ममा चार अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो ।
यसैगरी कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात गत आवको ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ६६ दशमलव २ प्रतिशतले बढेको छ । चालू आवको छ महिनामा ७६ करोड पाँच लाख मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।
भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा घटेको छ । चालु आव २०८२/८३ को छ महिनामा ५३ करोड चार लाख रुपैयाँको भेनियर सिट र नौ करोड १२ लाख मूल्यको मुसुरो दाल निर्यात भएको छ ।