आजदेखि निर्वाचन आचारसंहिता लागू

अनलाइनसमय |
५ माघ २०८२
आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको हो ।

आयोगका अनुसार आचारसंहिता २०८२ स्वीकृत भई नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना जारी नभएसम्म यो आचारसंहिता सबै सम्बन्धित निकाय र व्यक्तिमा लागू रहनेछ ।

आचारसंहिताको दायराभित्र नेपाल सरकार, प्रदेश सरकार तथा तिनका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी तथा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी निकायका पदाधिकारी र कर्मचारी पर्नेछन् । यसैगरी स्थानीय कार्यपालिका र त्यसका सदस्य, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ ।

राजनीतिक दल, तिनका भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति तथा अनुगमन समितिका पदाधिकारी र अनुगमनकर्ता पनि आचारसंहिताको दायरामा समेटिएका छन् ।

त्यसैगरी पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार माध्यम, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा तिनका शिक्षक र कर्मचारीसमेत आचारसंहिताअनुसार चल्नुपर्नेछ ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना र त्यसमा कार्यरत कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारी, साथै निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस