काठमाडौं, ४ माघ । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ७२ दशमलव ५५ को बिन्दुमा बन्द भएको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्से १ दशमलव ५२ अङ्कले बढेर २,६४१ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ६ अर्ब २० करोडको कारोबार भएकोमा आज बढेर यस्तो कारोबार ८ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बराबर पुगेको छ । यस दिन १ करोड ६५ लाख १५ हजार ९११ कित्ता शेयर ९४ हजार ८५२ पटक किनबेच भएको छ ।
आइतबार ३३८ धितोपत्र कारोबारमा आए, जसमध्ये २२४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३१ धितोपत्रको मूल्य बढेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ५.७३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंकको ३.०३, उत्पादनमुलक समूहको २.४२, होटल एण्ड टुरिजमको २.०२, माइक्रोफाइनान्सको १.३१, जीवन बीमाको १.२५, लगानी समूहको ०.९३ र बैंकिङ समूहको ०.८५ प्रतिशतले बढेको छ ।
आइतबार ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा गोर्खाज फाइनान्स, सागर डिस्टिलरी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र उन्नती सहकार्य लघुवित्त रहेका छन् । त्यस्तै, सेन्ट्रल फाइनान्सको ८.८८, गुँरास लघुवित्तको ८.८६, बन्दीपुर केबलकारको ७.४७ र गुडवील फाइनान्सको ६.९३ प्रतिशतले शेयरमूल्य बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८.७८ प्रतिशतले घटेको छ । त्यस्तै, एनएमबी लघुवित्तको ३.०१, स्वरोजगार लघुवित्तको २ प्रतिशतले शेयर मूल्य घटेको छ । अन्य घट्ने कम्पनीमा अधिकाशं डिबेन्चर रहेको छन् ।