कन्टेन्ट क्रिएटर्स मेला चितवनमा सम्पन्न

अनलाइनसमय |
४ माघ २०८२
कन्टेन्ट क्रिएटर्स मेला चितवनमा सम्पन्न

काठमाडौं । नेपालका बढ्दो कन्टेन्ट क्रिएटरहरूलाई व्यावसायिक विकासको अवसर प्रदान गर्ने उद्देश्यले चितवनमा आयोजित ‘कन्टेन्ट क्रिएटर्स’ मेला सम्पन्न भएको छ । पहिलो चरणको यो मेला एनसेल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली युवायुवतीहरूलाई कन्टेन्ट क्रिएशनका क्षेत्रमा सशक्त बनाउँदै डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउनु रहेको थियो । ‘भिजन टु भेन्चर’ नारा अन्तर्गत आयोजित मेलामा सहभागीहरूले व्यावहारिक सीप, व्यापारिक सम्पर्क र सहकार्यका अवसरहरू प्राप्त गर्न सफल भए ।

मेलामा विभिन्न सत्रहरूको आयोजना गरिएको थियो । स्पट लाइट सत्र, प्यानल छलफल, विमर्शका अवसरहरू प्रदान गरियो । यसमा प्रतिष्ठित कन्टेन्ट क्रिएटरहरूको यात्रा र तिनीहरूको कार्यक्षेत्रको विस्तारलाई विश्लेषण गरिएको थियो । साथै यो मेला क्रिएटरहरूको व्यावसायिक विकासका अवसरहरूमा केन्द्रित थियो ।

कार्यक्रममा चर्चित कलाकार र कन्टेन्ट क्रिएटरहरूको सहभागिता थियो । प्रियंका कार्की, आयुष्मान जोशी, इभा गिरी, अस्मी श्रेष्ठ, २बी गेमर, लेक्स लिम्बू, नितेश जंग कुँवर, कविता नेपाली, याबेश थापा, सोनम तोप्देन, श्रीशेष मानन्धर, मिस्टर फूडी जस्ता व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रमको विशेष आकर्षण ‘अन–द–स्पट मेन्टरशिप’ सत्र थियो, जहाँ नयाँ क्रिएटरहरूले आफ्नो उद्यमलाई उच्च–स्तरीय प्यानलमा प्रस्तुत गर्ने अवसर पाए । यसमा निम्बसका आनन्द बगरिया, अग्नि समूहका क्याबिनेट श्रेष्ठ जस्ता उद्योगका प्रमुख व्यक्तिहरू सहभागी थिए ।

क्रिएशन मेलाले क्रिएटरलाई आफू जस्तै अन्य व्यक्तिसँगको अनुभव, नयाँ ज्ञान सिक्ने मौका पाइने कन्टेन्ट क्रिएटर अभिषेक बस्याल बताए । यस्ता मेलाले पहिले नै ‘भाइरल’ भएकाहरूबाट प्रेरणा मिल्ने अर्का कन्टेन्ट क्रिएटर विशाल नायक क्षेत्रीको अनुभव छ । यसको यात्रा, कस्ता कन्टेन्ट राख्ने, कसरी अघि बढ्ने जस्ता कुरा थाहा पाउने र आफू पनि अघि बढ्न हौसला मिल्ने उनले बताए ।

पछिल्लो समय सूचना, विज्ञापन, व्यापार लगायत विविध कुरा सामाजिक सञ्जालबाट प्रचारप्रसार हुने हुँदा सही ढङ्गले अघि बढ्न सके मार्केट निकै ठूलो रहेको कन्टेन्ट क्रिएटर समर तामाङको भनाइ छ । कन्टेन्ट क्रिएटलाई नै आफ्नो भविष्य बनाउन सकिने भएपनि यसमा सहज भने नभएको कन्टेन्ट क्रिएटर्स किरण ढकाल र शुवम् चापागाईंको बुझाइ छ । यद्यपि निश्चित लक्ष्य, उद्देश्यसहित निरन्तर त्यसलाई आत्मसाथ गरे सफल भइने उनीहरूले बताए ।

पछिल्लो समय व्यापार, व्यवसाय समेत सामाजिक सञ्जालकै माध्यमबाट खरिदबिक्री गर्ने क्रम बढ्दो छ । मानिसहरू भौतिक उपस्थिति कम र अनलाइन माध्यमबाट बढी ‘सामान अर्डर’ गर्ने गर्छन् ।

अहिलेको अवस्थामा ‘ब्राण्ड ग्रो’ गर्न कन्टेन्ट क्रिएशन अनिवार्य रहेको मनराम ग्रुपको मार्केटिङमा रहेकी तपस्या श्रेष्ठको भनाइ छ । इ–कमर्सका विकासले कन्टेन्ट क्रिएटरको भूमिकालाई अझ बढी महत्त्वपूर्ण बनाएको छ ।

कन्टेन्ट क्रिएटर्सले कन्टेन्ट पोस्ट गर्ने समय, प्लेटफर्मको एल्गोरिदम, आफ्नो भ्यूअर्स आदिको बारेमा थाहा पाउनुपर्ने नायिका प्रियंका कार्कीले बताइन् । उनले भनिन्, ‘पहिले आफूलाई एल्गोरिदमको बारे थाहा नभएको र जस्तो कन्टेन्ट आए पनि हालिन्थ्यो, तर अहिले मटिाइज गर्ने र सही ढंगले कन्टेन्ट तयार गर्ने कुरा थाहा पाइरहेको छु ।’

युट्युबमा कमाईका अवसरहरूका बारेमा चर्चा गर्दै ती प्लेटफर्महरूको तुलनामा युट्युबमा कति कठिनाइ हुने अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठको भनाइ छ । उनका अनुसार युट्युबमा काम गर्नको लागि नियमित रूपमा कन्टेन्टहरू खोज्न, नोटिसहरूमा ध्यान दिनु र कन्टेन्टसिप को प्रक्रियामा निरन्तरता राख्नु आवश्यक पर्छ ।

कन्टेन्ट क्रिएटर्स मेलाले मुख्यतः विद्यार्थी, उद्यमी क्रिएटरलाई लक्षित गर्दै विभिन्न सृजनात्मक क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, नयाँ सीप सिक्ने र एक अर्कासँग विचार, विमर्श गर्ने अवसर सिर्जना गरेको छ ।

क्रिएटर्स मेला सन् २०२३ बाट सुरु भएको हो । यो वर्षको मेला शनिबार चितवनमा सम्पन्न भएको छ । त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस