लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

अनलाइनसमय |
१ माघ २०८२
लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं , १ माघ । लुम्बिनी विकास बैंक लिमिटेडले पुस ३० गते बुधबार आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ।

सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि सहभागी शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्ष भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जवाफ दिएका थिए।

देशका सातै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडले हाल विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर)मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

‘निरन्तर सहयात्रा’ भन्ने नारासहित बैंकले उच्चस्तरीय, आधुनिक र नविनतम प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सेवा विस्तार र प्रविधि सुधारमार्फत ग्राहक केन्द्रित बैंकिङलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको चुक्तापूँजी ३ अर्ब ६२ करोड ३६ लाख रहेको छ । सो अवधिमा निक्षेप ५६ अर्ब १४ करोड ३२ लाख र कर्जा लगानी ४६ अर्ब ५७ करोड १६ लाखभन्दा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस