आज माघे सङ्क्रान्ति पर्वा बनाइँदै

अनलाइनसमय |
१ माघ २०८२
आज माघे सङ्क्रान्ति पर्वा बनाइँदै

काठमाडौं, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा र आस्थाका साथ मनाइँदै छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने धार्मिक मान्यताअनुसार आजदेखि रात छोटिँदै र दिन लम्बिँदै जान थाल्छन् ।

उत्तरायणको पहिलो दिन स्नान, दान, जप, तपस्या तथा ध्यान गर्नाले पुण्य प्राप्त हुने विश्वासका कारण देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तीर्थस्थलहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ । यी स्थानहरूमा आज विशेष मेला पनि आयोजना गरिएको छ । तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ पर्वका रूपमा मनाइने चलन छ, जहाँ वर्षभर नियमित स्नान गर्न कठिन हुने समुदायले समेत आज अनिवार्य स्नान गर्ने परम्परा रहेको छ ।

धार्मिक विश्वासअनुसार आज बिहान तीर्थमा स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरह पुण्य मिल्ने जनविश्वास छ । आज घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस