साढे १५ करोडको आईपीओ ल्याउँदै केटीएम हस्पिटालिटी

अनलाइनसमय |
३० पुष २०८२
साढे १५ करोडको आईपीओ ल्याउँदै केटीएम हस्पिटालिटी

काठमाडौं, ३० पुस । चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले कम्पनीको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । पारित प्रस्तावअनुसार कम्पनीले कुल चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत जारी गर्नेछ ।

केटीएम हस्पिटालिटीले हाल सौराहामा ६५ कोठा क्षमताको पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ । पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहामा सञ्चालनमा आएको यो रिसोर्टले होटल व्यवसायमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।

सभामा केटीएम ग्रुपका ब्राण्ड एम्बेसेडर वरिष्ठ कलाकार सन्तोष पन्तको विशेष उपस्थिति रहेको थियो । साथै, नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको जानकारी पनि दिइयो ।

संस्थाका अध्यक्ष रामेश्वर शाहले नेपालको आथित्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताए । हस्पिटालिटी क्षेत्रमा निरन्तर लगानी बढ्नुले यो क्षेत्रमा सम्भावनालाई उजागर गरेको अध्यक्ष शाहको भनाइ छ । उनले केटिएम हस्पिटालिटीमा सर्वसाधारणलाई समेत सहभागिता गराएर अघि बढ्न लागेको बताए । ‘सर्वसाधारणलाई पनि पार्टनरसीप बनाएर लैजान २० प्रतिशत आइपिओ ल्याउन लागेका हौं’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले पछिल्ला वर्षहरूमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए । कोभिड–१९ महामारी र अन्य चुनौतीपूर्ण परिस्थितिमा पर्यटन क्षेत्रमा पुगेको क्षति न्यूनीकरण गर्न केन्द्रीय बैंकले आवश्यक नीति तथा निर्देशनमार्फत सहयोग गरेको उनको भनाइ थियो ।

विश्वव्यापी ब्राण्डको स्वदेशीकरण
केटीएम हस्पिटालिटीका अध्यक्ष शाहका अनुसार होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको छ । साथै जनशक्तिमा पनि स्वदेशीकरणलाई प्राथमिकता दिइएको छ । फ्रान्सको प्रतिष्ठित लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर सञ्चालन गरिएको यस होटलमा अधिकांश कर्मचारी नेपाली नै रहेका छन् । प्राविधिक जनशक्ति अन्तर्राष्ट्रिय ब्राण्डसँगको समन्वयमा व्यवस्थापन गरिएको छ ।

रोयल टुलिपः विश्वस्तरीय आतिथ्यताको प्रतीक
रोयल टुलिप लुभ्र होटल्स ग्रुपअन्तर्गतको प्रिमियम ब्राण्ड हो, जसका विश्वभर ७० भन्दा बढी देशमा १ हजार ७५६ भन्दा बढी होटल सञ्चालनमा छन् । लक्जरी आवास र उत्कृष्ट सेवाका लागि अन्तर्राष्ट्रिय ख्याति कमाएको यस ब्राण्डले स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय मापदण्डको संयोजनलाई प्राथमिकता दिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको किनारमा चार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा विशेष पुल भिला, वाटर भिला र मचान सुइटसहित ६५ वटा आकर्षक आवास सुविधा छन् । साथै अन्तर्राष्ट्रिय स्तरको स्पा तथा वेलनेस सेन्टर, फिटनेस सेन्टर, पौडी पोखरी, विभिन्न रेस्टुरेन्ट तथा लाउन्ज, स्पोट्र्स बार, बालबालिकाका लागि खेल क्षेत्र, बोटिङ र फिसिङ सुविधा, वाकिङ ट्रेल र हेलिप्याडजस्ता संरचनाहरू रहेका छन् ।

स्थानीय माझी र थारु समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘माझीघर’ निर्माण गरिएको छ, जसले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली संस्कृतिको प्रामाणिक अनुभव दिने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार केटीएम हस्पिटालिटीको आईपीओ निष्कासनले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा सार्वजनिक लगानी बढाउन मद्दत गर्नेछ भने रोजगारी सृजना, विदेशी मुद्रा आर्जन र सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस