वर्षदिनमा ८१ अर्ब रुपैयाँले घट्यो धितोपत्र बजार पूँजीकरण

अनलाइनसमय |
२७ पुष २०८२
वर्षदिनमा ८१ अर्ब रुपैयाँले घट्यो धितोपत्र बजार पूँजीकरण

काठमाडौं, २७ पुस । पछिल्ल्लो एक वर्ष अवधिमा धितोपत्र बजार पूँजीकरण ८१ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को मङ्सिरसम्ममा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बजार पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रहेको थियो ।

२०८१ को मङ्सिर मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७७.९३ प्रतिशत रहेकोमा चालू आवको मंसिरसम्ममा ७१.५२ प्रतिशत रहेको छ ।

मङ्सिरसम्मम नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८५ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी रहेका छन् । त्यस्तै, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी नेप्सेमा सूचीकृत भएका छन् । २०८१ मङ्सिरमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ ।

नेप्सेमा २०८२ मङ्सिर मसान्तमा सूचीकृत ९ अर्ब ११ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ९६ अर्ब ६० करोड रहेको छ ।

आव २०८२/८३ को पाँच महिनामा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण शेयर, ७ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर, ६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, ३ अर्ब २४ करोड बराबरको बोनस शेयर र २ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल रु.४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा धितोपत्र बोर्डले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ५ अर्ब १५ करोड रुपैयाँ बराबरको साधारण शेयर र ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल २० अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस