५ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

अनलाइनसमय |
२५ पुष २०८२
५ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

काठमाडौं, २५ पुस । चालू आर्थिक वर्ष (आव)को पहिलो पाँच महिनामा विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको ५ महिनाको तुलनामा चालू आवको सोही अवधिमा रेमिट्यान्स ३५ दशमलव ६ प्रतिशतले बढेको हो ।

आवको ५ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । देशमा रोजगारको अवसर कम हुनु र युवाहरू वैदेशिक रोजगारीको खोजीमा विदेशिँदा रेमिट्यान्समा निरन्तर वृद्धि भइरहेको छ । गत मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ, यद्यपि गत वर्षको मंसिरमा यो रकम १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो ।

चालू आवमा भित्रिएको रेमिट्यान्स रकम अमेरिकी डलरमा ६ अर्ब १६ करोड पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो । तुलनात्मक रूपमा अघिल्लो वर्ष डलरमा रेमिट्यान्स मात्र ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर मार्फत आएको रेमिट्यान्स ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, गत वर्षको सोही अवधिमा यो रकम ७ खर्ब ४३ अर्ब रुपैयाँ मात्रै थियो ।

त्यसैगरी, मंसिरसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको तथ्यांक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस