काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन गरेको छ । संशोधनसँगै नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने प्रक्रिया सहज बनाएको छ ।
नयाँ प्रावधानअनुसार अब नेपाली व्यक्ति, फर्म वा कम्पनीले विदेशमा अधिकतम अमेरिकी डलर २० हजार वा सो बराबरको विदेशी मुद्रा लगानी गर्न सक्नेछन् । विनियमावलीमा थपिएको बुँदा ४(क) अनुसार उक्त सीमाभित्रको लगानीमा अघिल्ला कडाइयुक्त प्रावधान लागू नहुने व्यवस्था गरिएको छ ।
यस संशोधनले विदेशी लगानी भित्र्याउने प्रक्रियालाई समेत सहज बनाएको राष्ट्र बैंकले जनाएको छ । अब विदेशी लगानी अघि गरिने सम्भाव्यता अध्ययन तथा पूर्व सञ्चालन खर्च (चुक्ता पुँजीको ३ प्रतिशतसम्म) का लागि केन्द्रीय बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने भएको छ ।
त्यसैगरी सूचना प्रविधि (आईटी) क्षेत्रका उद्योगलाई लक्षित गर्दै निर्यात आम्दानीको आधारमा १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सटही सुविधा प्रदान गर्ने विशेष व्यवस्था पनि गरिएको छ ।
विदेशी मुद्रा भित्र्याउने र बाहिर लैजाने क्रममा देखिँदै आएको कानुनी जटिलता हटाई आर्थिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले यो संशोधन गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । यस कदमले साना तथा मध्यम लगानीकर्तालाई अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तार गर्ने अवसर खुल्ने अपेक्षा गरिएको छ ।