कोशीमा स्टार्टअप उद्यममा साढे दुई अर्ब लगानी

अनलाइनसमय |
२२ पुष २०८२
कोशीमा स्टार्टअप उद्यममा साढे दुई अर्ब लगानी

काठमाडौं, २२ पुस । कोशी प्रदेशमा स्टार्टअप क्षेत्रमा साढे दुई अर्ब बढि लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदनअनुसार प्रदेशको यस क्षेत्रमा दुई अर्ब ५६ करोड रुपैयाँ लगानी भएको देखिएको हो । कुल लगानीमध्ये ३८ दशमलव ७ प्रतिशत ऋणमार्फत र ६१ दशमलव ३ प्रतिशत स्वपुँजीमार्फत जुटाइएको छ ।

उद्यमीहरूको उमेरगत संरचना हेर्दा ३६ देखि ५० वर्ष उमेर समूह सबैभन्दा ठूलो हिस्सा ओगट्दै ४४ दशमलव ४ प्रतिशत पुगेको छ । त्यसपछि २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमी ३९ दशमलव ३ प्रतिशत छन् भने ५० देखि ७० वर्ष उमेर समूहका उद्यमीको सहभागिता १६ दशमलव २ प्रतिशत रहेको छ ।

अध्ययनअनुसार युवापुस्ता प्रविधिमैत्री व्यवसायतर्फ बढी आकर्षित देखिएको छ । २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये ७३ दशमलव ३ प्रतिशत सूचना प्रविधि क्षेत्रमा सक्रिय छन् भने कृषि क्षेत्रमा उनीहरूको सहभागिता २१ दशमलव २ प्रतिशत मात्र रहेको छ । ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमीहरू सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न छन् भने यस उमेर समूहको सूचना प्रविधिमा संलग्नता २६ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यसैगरी ५० देखि ७० वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा धेरै २७ दशमलव ३ प्रतिशत पर्यटन क्षेत्रमा आबद्ध छन् । सूचना प्रविधि क्षेत्रमा भने यस उमेर समूहको सहभागिता शून्य रहेको अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दिएका र ‘सर्टलिस्ट’ भएका कोशी प्रदेशका १६० उद्यमलाई आधार मानी तथ्याङ्क संकलन गरिएको हो ।

अध्ययनमा समेटिएका १६० स्टार्टअप उद्यममध्ये कृषि तथा वनजन्य क्षेत्रको हिस्सा सबैभन्दा बढी ४१ दशमलव ३ प्रतिशत रहेको छ । त्यसपछि उत्पादनमूलक १८ दशमलव १ प्रतिशत, सेवामूलक १७ दशमलव ५ प्रतिशत, पर्यटन १३ दशमलव ८ प्रतिशत र सूचना प्रविधि क्षेत्रका ९ दशमलव ४ प्रतिशत उद्यम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस