भेनेजुएलामा अमेरिकाले शासन गर्ने ट्रम्पको घोषणा

अनलाइनसमय |
२० पुष २०८२
भेनेजुएलामा अमेरिकाले शासन गर्ने ट्रम्पको घोषणा

काठमाडौं, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पक्राउ परेपछि अब भेनेजुएलाको शासन अमेरिकाले चलाउने घोषणा गरेका छन् । अमेरिकी विशेष सेनाले राजधानी काराकासमा गरिएको हेलिकप्टर अपरेसनमार्फत मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकामा ल्याएको ट्रम्पले दाबी गरेका हुन् ।

फ्लोरिडास्थित निवास मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षित, व्यवस्थित र जिम्मेवार सत्ता हस्तान्तरण नभएसम्म अमेरिका भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने बताए । उनले देशलाई निष्पक्ष र प्रभावकारी ढङ्गले सञ्चालन गरिने र यसबाट आर्थिक लाभ पनि हुने दाबी गरे ।

भेनेजुएलाको तेल तथा पूर्वाधार सुधार गर्न अमेरिकी तेल कम्पनीहरू पठाइने ट्रम्पको भनाइ उद्वत गर्दै द टेलिग्राफले लेखेको छ । सत्ता हस्तान्तरणको अवधिमा आवश्यक परे अमेरिकी सेना भेनेजुएलामा तैनाथ गर्न सकिने सम्भावना समेत रहेको बताइएको छ ।

अमेरिकी विशेष सेनाले अत्यधिक सुरक्षा रहेको मादुरोको निवासमा छापा मारेर उनलाई पक्राउ गरेको जनाइएको छ । अपरेसन शनिबार बिहान करिब १ बजेर १ मिनेट (अमेरिकी समय) मा भएको बताइएको छ ।

पक्राउपछि मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध न्यूयोर्कमा लागूऔषध तस्करी र आतंकवादी गतिविधिसँग सम्बन्धित अभियोग दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस