पूँजीबजारमा किन कम प्रचलित छ अग्राधिकार शेयर ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१८ पुष २०८२
पूँजीबजारमा किन कम प्रचलित छ अग्राधिकार शेयर ? (भिडियो रिपोर्ट)

काठमाडौं, १८ पुस । यति बेला कम्पनीहरूले धमाधम साधारणसभा गरिरहेका छन् । कुनै पनि पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था छ । साधारणसभाले शेयरधनीका लागि ठूलो महत्व राख्छ । किनकि कम्पनीहरूले घोषणा गरेका लाभांश यही सभाबाट पारित गरिन्छ । त्यसपछि मात्र लगानीकर्ताले पाउँछन् । तर तपाईंलाई थाहा छ ? कम्पनीको लाभांश वितरणमा पनि प्राथमिकता छुट्टिन्छ । हो, कुनै कम्पनीमा अग्राधिकार शेयरधनी हुन सक्छन् । यस्ता शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयरधनीलाई लाभांश दिइन्छ । यद्यपि अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गरेका हुन्छन् । यस्तो शेयर जारी गर्नुको उद्देश्य कम्पनीलाई आवश्यक पूँजी जुटाउनु नै हो ।

के हो अग्राधिकार शेयर ?
कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्रअधिकार हुने शेयरलाई नै अग्राधिकार शेयर अर्थात् प्रिफेरेन्स शेयर भनिन्छ । कुनै पनि कम्पनीले निश्चित दरमा लाभांश दिनेगरी अग्राधिकार शेयर जारी गर्न सक्छ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुन सक्छ भने अग्राधिकार शेयरको सधैं एउटै हुन्छ । यद्यपि कम्पनीले नाफा गर्न नसके यस्ता शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटन हुँदा अग्राधिकार शेयरधनीलाई पूँजी फिर्ता र लाभांशमा पहिलो अधिकार हुन्छ ।

नेपालमा हालसम्म एभरेष्ट बैंक, कृषि विकास बैंक र तारागाउँ रिजेन्सी होटलले मात्र अग्राधिकार शेयर जारी गरेका छन् । अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न हाल नबिल बैंक, एनएमबि बैंक र कामना सेवा विकास बैंकले अनुमति पाएका छन् । पूँजी जुटाउने माध्यम भए पनि पूँजीबजारमा यो उपकरण तुलनात्मक रूपमा कम प्रचलनमा रहेको पाइन्छ ।

कतिपय अग्राधिकार शेयर निश्चित समयावधिपछि साधारण शेयरमा परिणत हुने खालका हुन्छन् । यस्तो शेयरलाई कन्भर्टिबल अग्राधिकार शेयर भनिन्छ । यसरी परिवर्तन गर्न नसकिने अग्राधिकार शेयरलाई ननकन्भर्टिबल अग्राधिकार शेयर भनिन्छ । अग्राधिकार अन्य धेरै प्रकारका हुन्छन् । जसमा क्युमुलेटिभ, ननक्युमुलेटिभ, रेडिमेबल र इरेडिमेबल आदि रहेका छन् । साधारण शेयर र ऋणपत्र दुवैको विशेषता भएकाले अग्राधिकार शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस