काठमाडौं, १८ पुस । पछिल्लो वर्ष कृषि बालीको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको कुल क्षेत्रफल २ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पनि यस्तो क्षेत्रफल १.० प्रतिशतले घटेको थियो ।
कृषि क्षेत्रफल घट्दै गएपनि उत्पादन भने बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनले गत आवमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसला) को कुल उत्पादन ३.७ प्रतिशतले बढेको देखाएको छ । आव २०८०/८१ मा पनि यस्ता बालीको उत्पादन २.६ प्रतिशतले बढेको थियो ।
गत आवमा खाद्य तथा अन्य बालीको उत्पादन २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो उत्पादन २ प्रतिशतले बढेको थियो । आव २०८१/८२ मा धान बालीको उत्पादन ४.० प्रतिशत र मकै बालीको उत्पादन १.८ प्रतिशतले बढेको छ भने गहुँ बालीको ३.२ प्रतिशत, कोदो बालीको १३.७ प्रतिशत, जौ बालीको १४.१ प्रतिशत र फापर बालीको उत्पादन १६.१ प्रतिशतले घटेको छ ।
समग्र कृषि बालीको उत्पादनमा धान बालीको उत्पादन हिस्सा सबैभन्दा बढी, २३.२ प्रतिशत रहको छ त्यस्तै, मकैको १३.३ र गहुँ बालीको उत्पादनको हिस्सा समग्र कृषि उत्पादनमा ८.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
धान बालीको उत्पादनको प्रवृत्ति पछिल्लो वर्षहरुमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको छ । आधुनिक कृषि खेती तथा उन्नत बीउको प्रयोग र सिँचाइ सुविधाले धान बालीको उत्पादकत्वमा केही वृद्धि भएको हो । समीक्षा वर्षमा धान बालीको क्षेत्रफलमा कमी आए पनि रासायनिक मल र हाईब्रिड बीउबीजनको सहज उपलब्धताको साथै अनुकूल मौसमी वर्षाका कारण उत्पादनमा भने वृद्धि भएको प्रतिवेदनमा भनिएको छ ।
समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बढेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशमा घटेको छ । तरकारी उत्पादन कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा बढेको छ ।
यसैगरी, राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल २ दशमलव ७ प्रतिशतले घटेको छ । त्यस्तै, धान बालीले ढाकेको क्षेत्रफल १.३ प्रतिशत, गहुँ बालीको ३.६ प्रतिशत र मकैबालीले ढाकेको क्षेत्रफल ३ं.६ प्रतिशतले बढेको छ । त्यसैगरी, कोदो बालीले ढाकेको क्षेत्रफल ८.० प्रतिशत, जौ बालीको ०.२ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल १३.८ प्रतिशतले घटेको छ । समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै २९.९ प्रतिशत र फापर बालीको सबैभन्दा कम ०.२ प्रतिशत रहेको छ ।
गत आवमा तरकारी बालीले ढाकेको क्षेत्रफल ५.४ प्रतिशतले र बागवानीले ढाकेको क्षेत्रफल १५.० प्रतिशतले बढेको छ । फलपूmल बालीले ढाकेको क्षेत्रफल ८.३ प्रतिशतले घटेको छ भने मसलाजन्य बालीले ढाकेको क्षेत्रफल ३.२ प्रतिशतले बढेको छ ।