काठमाडौं, १७ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल संख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी जम्मा ४० पुगेको जानकारी दिए ।
निर्वाचनलाई लक्षित गर्दै आयोगले यसअघि नै २७ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको थियो । बुधबार ९ वठा राष्ट्रिय संस्थालाई अनुमति दिइएसँगै पछिल्लो निर्वाचन पर्यवेक्षण गर्न अनुमति पाउने संस्थाको संख्या राष्ट्रियतर्फ ३६ र अन्तर्राष्ट्रियतर्फ ४ पुगेको आयोगले जनाएको छ ।
बुधबार निर्वाचन पर्यवेक्षणको अनुमति पाउनेमा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पा, जनसरोकार मञ्च नेपाल, दिगो ग्रामीण विकास केन्द्र, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, मस्वसित नेपाल, नेपाल जनप्रशासन संघ र नेपाल कानून समाज रहेका छन् । यससँगै निर्वाचन पर्यवेक्षणको अनुमति पाउने संस्थाको संख्या ४० पुगेको हो ।
आयोगले अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण प्रदान गरी सम्बन्धित संस्थाबाट खटिने पर्यवेक्षकहरूलाई परिचयपत्र उपलब्ध गराउनेछ ।
निर्वाचन तालिका अन्तर्गत समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्य सम्पन्न भइसकेको छ । हाल निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन जारी राखेको छ ।

