नेपालमा टी–२० विश्वकपको ट्रफी ल्याइने, पुस २१–२३ सम्म राखिने

अनलाइनसमय |
१६ पुष २०८२
नेपालमा टी–२० विश्वकपको ट्रफी ल्याइने, पुस २१–२३ सम्म राखिने

काठमाडौं, १६ पुस । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी नेपालमा ल्याइने भएको छ । सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने जनाएको छ । उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण केही दिनभित्र प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानले बताएको छ ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।

भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपमा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस