काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले कुनै पनि कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन वा लगानी बाहिर लैजान सक्ने नीति लिएको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँपटक संशोधन गर्दै अब कुनैपनि कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन वा बाहिर लैजान केन्द्रीय बैंकको अनुमति लिनुपर्ने व्यवस्था हटाएको हो ।
‘विदेशी लगानी हुनेकम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन/भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने छैन,’ राष्ट्र बैंकले भनेको छ ।
नयाँ व्यवस्था अनुसार अब नेपालमा कालोसूचीमा रहेका कम्पनीहरूले पनि विदेशी लगानी भित्र्याउन पाउनेछन् । यसअघि कालोसूचीमा परेको कम्पनीले विदेशबाट विदेशी लगानी ल्याउन नसक्ने व्यवस्था थियो । पाँचौं संशोधनमार्फत उक्त व्यवस्था हटाइएको हो । तर, यस्तो कम्पनीले विदेशी लगानी, लाभांश लगायत रकम फिर्ता लैजान भने कालोसूचीबाट बाहिर निस्किसकेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, अब विदेशी लगानी प्राप्त गरी नयाँ स्थापना हुने उद्योग (ग्रिनफिल्ड इन्भेस्टमेन्ट) र सञ्चालनमा रहेका नेपाली उद्योगमा शेयरधनीले लगानी थप्न (ब्राउनफिल्ड इन्भेस्टमेन्ट) का लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । यसअघि विदेशी लगानी प्राप्त गरी नयाँ स्थापना हुने उद्योगका लागि राष्ट्र बैंकको अनुमति नचाहिने व्यवस्था भए पनि सञ्चालनमा रहेका उद्योगले लगानी थप्दा राष्ट्र बैंकको अनुमति चाहिने व्यवस्था थियो ।
यसैगरी, विदेशी लगानीकर्ताले शेयर बिक्रीबाट प्राप्त रकम, मुनाफा वा लाभांश, उद्योग वा कम्पनी खारेजी पछि बाँकी रहेको रकम, प्रविधि हस्तान्तरण सम्झौतामा प्राप्त रोयल्टी, लिज भाडा, आदी कानुनी प्रक्रियाबाट फिर्ता लैजान सक्नेछन् । यसले विदेशी लगानीकर्ताका लागि प्रक्रिया सजिलो, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
सूचना प्रविधि (आईटी) क्षेत्रका कम्पनीले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रहने गरी विदेशका क्षेत्र वा उद्योगमा लगानी गर्न अमेरिकी डलर २० हजारसम्म सटही सुविधा राष्ट्र बैंकबाट पाउनेछन् । कम्पनीले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख (दुईमध्ये न्युन) रकमसम्म लगानी गर्न सक्नेछन् ।