१४ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय, कुनको कति ?

अनलाइनसमय |
१३ पुष २०८२
१४ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय, कुनको कति ?

काठमाडौं, १३ पुस । पछिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको पाँच महिनामा १४ वटा निर्जीवन बीमा कम्पनी र चार लघु बीमकले १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ०९ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा यी कम्पनीले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

चालू आवको मंसिरसम्ममा १४ निर्जिवन कम्पनीले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ र चार लघु बीमक कम्पनीले ४९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

मंसिरसम्ममा १३ लाख ४१ हजार ७०७ वटा बीमालेख जारी भएको छ । त्यस्तै, मंसिर महिनामा मात्रै ३ अर्ब ७७ करोड ९ लाख रुपैयाँको व्यवसाय भएको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने १४ कम्पनीमध्ये सबैभन्दा अगाडि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले चालू आवको कात्तिकसम्ममा २ अर्ब २१ करोड ९२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

सगरमाथा लुम्बिनीपछि सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेका छन् ।

अन्य बीमा कम्पनीहरूमध्ये नेको इन्स्योरेन्सले १ अर्ब ३० करोड, सानिमा जिआईसीले १ अर्ब २२ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड, नेशनल इन्स्योरेन्सले ६० करोड र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

यसैगरी, लघु बीमकको व्यवसाय गत आवको कात्तिकसम्मको तुलनामा ४६ दशमलव ३९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यी चार कम्पनीले ३३ करोड ८८ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

मंसिरसम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै १० करोड १२ लाख बीमाशुल्क संकलन गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८ करोड ३१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ७ करोड ७२ लाख तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस