कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लागू, कृषि यन्त्र खरिददेख निर्यातसम्म अनुदानको व्यवस्था

अनलाइनसमय |
११ पुष २०८२
कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लागू, कृषि यन्त्र खरिददेख निर्यातसम्म अनुदानको व्यवस्था

काठमाडौं, ११ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कृषि विभाग तथा मातहतका कार्यालयको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ लागू गरेको गरेको छ । कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट माथि उकास्दै आधुनिक, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने उद्देश्यसहित उक्त कार्यविधि लागू गरिएको हो । मन्त्रालयले कृषिमन्त्री डा. मदनप्रसाद पारियारको स्वीकृतिपछि यो कार्यविधि कार्यान्वयनमा आएको जनाएको छ ।

यस कार्यविधिअनुसार साना र सीमान्तकृत किसानलाई कृषि यन्त्रमा सहज पहुँच पुर्‍याउन ‘कस्टम हायरिङ्ग सेन्टर’ स्थापना गरिने छ । यस कार्यक्रमअन्तरगत जमिन तथा श्रमको एत्पादकत्व वृद्धि गर्ने र उत्पादन लागत घटाउने, कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने र कृषि यन्त्रको प्रयोगमा वृद्धि गरि कार्यबोझलाई कम गर्ने उद्देश्य रहेको रहेको छ ।

जसअनुसार आवश्यक कृषि यन्त्र खरिदमा ५० प्रतिशत र भौतिक पूर्वाधार निर्माणमा पनि ५० प्रतिशतसम्मको अनुदान उपलब्ध हुनेछ । केन्द्र तथा फर्मबाट सञ्चालन गरिने मेला, दिवस, प्रयोगशाला सेवा, तालिम, गोष्ठी, सचेतना, प्रविधि प्रदर्शन र आकस्मिक बाली लगायत कृषि प्रसार कार्यक्रमलाई भने शतप्रतिशत नै अनुदान दिइनेछ ।

साथै सामुदायिक बीउ बैंकको सुदृढीकरण तथा बीउ बैंकबाट हुने अध्ययन, अभिलेखिकरण र प्रदर्शनका कार्यक्रमलाई ८५ प्रतिशतसम्मको उच्च अनुदान दिइने कार्यविधिमा उल्लेख छ । प्राङ्गारिक कृषि उपजको निर्यात गर्दा लाग्ने प्रमाणीकरण शुल्कमा समेत ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।

कार्यविधिले व्यावसायिक कृषि प्रबद्र्धनमा मौरी पालन, च्याउ खेती र मकै उत्पादन विशेष जोड दिएको छ । यी क्षेत्रहरूलाई प्रोत्साहित गर्न राष्ट्रियस्तरमा मह मेला र च्याउ मेला आयोजना समेत गरिनेछ ।

कृषि उत्पादन वृद्धि, उद्यमशीलता विकास, र पूर्वाधार निर्माणका कार्यक्रमहरू नेपाली सेनासँगको सहकार्यमा सञ्चालन हुनेछन् । नेपाली सेना र कृषि विभागमा विद्यमान संस्थागत क्षमताको उच्चतम उपयोग गरि कृषि उत्पादन बृद्धि र उद्यमशीलता विकास मार्फत खाद्य सुरक्षा र आय तथा रोजगारीमा योगदान पुर्याउनु प्रमुख उद्देश्य हरेको कार्यविधिमा भनिएको छ ।

जसअन्तर्गत नेपाली सेनाले बाली तथा कृषिजन्य वस्तुहरुको स्रोत केन्द्र विकास गरि गुणस्तरीय कृषि उत्पादन सामग्रीहरु कृषकलाई उपलब्ध गराउनेछन् । साथै अवकाश प्राप्त सैनिकहरुलाई कृषि सम्बन्धी तालिम दिएर व्यावसायिक कृषिमा संलग्न गराइनेछ ।

यसैगरी, जनचेतना अभिवृद्धि र कृषि क्षेत्रको महत्त्वलाई उजागर गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई उत्सवका रूपमा मनाइनेछ । असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, विश्व खाद्य दिवस, विश्व माटो दिवस, राष्ट्रिय कृषि जैविक विविधता दिवस, विश्व मौरी दिवस, राष्ट्रिय विषदी प्रयोगमुक्त सप्ताह दिवस जस्ता कार्यक्रमहरू संघीयदेखि स्थानीय तहसम्म विस्तार गरिने कार्यविधिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस