काठमाडौं, ११ पुस । विश्वकै सबैभन्दा ठूलो उच्च–गति रेल सञ्जाल भएको चीनले नयाँ उच्च–गति रेललाइन सञ्चालनमा ल्याएसँगै कुल सञ्चालन माइलेज ५० हजार किलोमिटर नाघेको छ ।
शुक्रबार बिहान चीनको उत्तरपश्चिमी शान्सी प्रान्तको क्रान्तिकारी ऐतिहासिक केन्द्र यानआनबाट प्रान्तीय राजधानी सियानतर्फ ‘फुसिङ’ बुलेट ट्रेन प्रस्थान गरेको हो ।
सियान–यानआन उच्च–गति रेलमार्ग ३५० किलोमिटर प्रतिघण्टासम्मको गतिका लागि डिजाइन गरिएको यो ट्रेनले दुई सहरबीचको यात्रा समय करिब एक घण्टामा झार्ने अपेक्षा गरिएको छ ।
चीनको उच्च–गति रेल यात्रा सन् २००८ मा बेइजिङ–तियानजिन अन्तरसहर रेलमार्ग सञ्चालनमा आएपछि सुरु भएको हो । त्यसयता रेल सञ्जाल असाधारण रूपमा विस्तार हुँदै आएको छ । जसको सञ्चालन दूरी अहिले विश्वका अन्य सबै देशहरूको संयुक्त कुल दूरीभन्दा बढी भइसकेको छ । चीनले विश्वकै सबैभन्दा छिटो व्यावसायिक उच्च–गति रेल सेवा पनि सञ्चालन गर्दै आएको छ ।
चीन राज्य रेल्वे समूह कम्पनी लिमिटेडका अनुसार, १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले १२ हजार किलोमिटर उच्च–गति रेलमार्ग निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
हाल चीनका पाँच लाखभन्दा बढी जनसंख्या भएका सहरहरूमध्ये ९७ प्रतिशतमा उच्च–गति रेल सेवा उपलब्ध भइसकेको छ । सिन्ह्वा