हिमाल सफा राख्ने सम्बन्धी ५ वर्षे कार्ययोजना सार्वजनिक, यस्ता छन् पाँच रणनीति

अनलाइनसमय |
९ पुष २०८२
हिमाल सफा राख्ने सम्बन्धी ५ वर्षे कार्ययोजना सार्वजनिक, यस्ता छन् पाँच रणनीति

काठमाडौं, ९ पुस । सरकारले हिमाल सफा गर्नेसम्बन्धी ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार ‘हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना २०८२–८६) सार्वजनिक गरेको हो ।
मन्त्रालयले हिमाल आरोहण गर्नुको आकर्षण र चुनौतीसहितको विषय समेटेर उक्त कार्ययोजना तयार पारेको हो ।

हिमालको फोहर व्यवस्थापनको वर्तमान अवस्थाको विश्लेषणसहित फोहर व्यवस्थापनबारे भएका विगतका प्रयासहरुलाई समेत समेटेर कार्ययोजना बनाइएको छ ।

सरकारले फोहरमैलाको दिगो व्यवस्थापनद्वारा सफा हिमाल, स्वच्छ वातावरण सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ । हिमाल सफा गर्नका लागि लागि विभिन्न पाँचचवटा रणनीतिमार्फत २९ वटा कार्यक्रम सार्वजनिक गरिएको छ । सम्बन्धित स्थानीय निकाय, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र सगरमाथा प्रदूषण नियन्त्रणसमिति सहितका नियकासँग सहकार्य र समन्वयमै हिमाल सफाइको काम गर्ने गरी कार्ययोजना सार्वजनिक गरिएको छ ।

यस्तो रणनीतिअन्तर्गत सबैभन्दा पहिला पर्वतारोहण प्रक्रियाका पूर्व तयारी, आरोहण अनुमति लगायत फोहरमैला व्यवस्थापन धरौटी फिर्तासम्मका प्रत्येक चरणमा फोहरमैला व्यवस्थापन कार्यलाई प्राथमिकतासहित समायोजन गर्दै जाने कार्ययोजनामा भनिएको छ ।

त्यस्तै, दोस्रो चरणमा पर्वतारोहण व्यवस्थापन गर्ने कार्यमा संलग्न सरकारी, गैरसरकारी, सामुदायिक र संस्थागत सरोकारवालाहरुमा सहकार्य गर्ने भएको छ । यसका लागि फोहरमैला व्यवस्थापन सम्बन्धमा समान धारणा तथा जिम्मेवारी अभिवृद्धि गर्ने गरी बहुसरोकारवाला सहकार्यको ढाँचा अबलम्बन गर्ने भएको छ ।

तेस्रो रणनीतिमा हिमाल आरोही एवं सहयोगीहरुबाट उत्सर्जन हुने सबैखाले फोहर व्यवस्थापन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, सूचना प्रविधि र आवश्यक उपकरणहरुको व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख छ ।

यसैगरी, चौथो रणनीतबाट भने फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी बनाउन आधुनिक प्रविधि र दक्ष जनशक्ति विकासका कार्यक्रम सञ्चालन गरिनेछ भने अन्तिममा हिमाली क्षेत्रको फोहरमैला व्यवस्थापनमा न्यूनतम् मापदण्ड, गुणस्तर र दिगोपनाका आधार तय गरी लागू गराउने कार्ययोजनामा भनिएको छ ।

यी रणनीत अन्तरगतका कार्यक्रमका गर्न सरकारले निजी क्षेत्रसँग समेत समन्वय गरेर काम गर्नेछ हिमाल सफा गर्ने कार्यका लागि सरकारले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन निर्देशक समितिको गठन गर्ने पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस