काठमाडौं, ७ पुस । चालूु आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनामा नेपालले १४८ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ११४ मुलुकसँग व्यापार घाटामा छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको मंसिरसम्ममा नेपालको व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । सो अवधिमा नेपालले भारतसँग मात्रै ३ खर्ब ३९ अर्ब २ करोडभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । मंसिरसम्ममा नेपालले भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ ९५ अर्ब ४ करोडको वस्तु निर्यात गरेको छ ।

भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । चालू आवको चार महिनामा नेपालले चीनतर्फ ४६ करोड ६८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको गर्दा आया भने १ खर्ब ६३ अर्ब ७३ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग १ खर्ब ६३ अर्ब २६ करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।
यस्तै अर्जेन्टिनासँग ४४ अर्ब ५६ करोड, युएईसँग २२ अर्ब ६० करोड, इन्डोनेसियासँग ७ अर्ब ७४ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।
यसैगरी नेपाल ३४ मुलुकसँगको व्यापारमा भने बचतमा छ । व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । चालू आवको मंसिरसम्ममा नेपाल डेनमार्कसँग ३८ करोड ३५ लाखभन्दा बढीको बचतमा छ । सो अवधिमा नेपालले डेनमार्कतर्फ ४५ करोड ३३ लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ६ करोड ९७ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ ।
डेनमार्कपछि नेपाल सबैभन्दा धेरै रोमानियासँग ६ करोड ३४ लाख रुपैयाँले व्यापार बचतमा छ । मंसिरसम्ममा नेपालले रोमानियातर्फ ८ करोड १२ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने १ करोड ७८ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ ।
त्यस्तै स्वीडेनसँग ४ करोड ६५ लाख मूल्य बराबरको व्यापार बचतमा छ । नेपालले त्यसतर्फ १७ करोड १७ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको गर्दा त्यहाँबाट १२ करोड ५२ लाखको लाखको वस्तु आयात गरेको छ ।