काठमाडौं, ६ पुस । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
बैंकले १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्न लागेको हो । अब १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्नेछ । त्यस्तै, बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी राखेको छ ।
उक्त आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।