सार्वजनिक खर्च बढेर मात्र हुँदैन, नागरिकले सेवा महसुस गर्नुपर्छ : मन्त्री सिन्हा

अनलाइनसमय |
४ पुष २०८२
सार्वजनिक खर्च बढेर मात्र हुँदैन, नागरिकले सेवा महसुस गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं, ४ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले सार्वजनिक खर्च बढ्नु मात्र पर्याप्त नभई त्यसबाट नागरिकले गुणस्तरीय सेवा अनुभूत गर्न सक्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा बोल्दै मन्त्री सिन्हाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षामा खर्च भए पनि त्यसको प्रतिफल नागरिकले महसुस गर्न नसकेको गुनासो व्यापक रहेको बताए ।

कार्यक्रममा उनले भने, ‘हरेक वर्षको बजेट शिर्षकमा अबण्डा बजेट राख्ने गरिएको देखिन्छ । योजना, प्राथमिकता र परिणामबिना गरिएको खर्चमा न नागरिकलाई सन्तुष्ट बनाउँछ, न अर्थतन्त्रलाई बलियो बनाउएछ ।’

सार्वजनिक खर्चको प्रभावकारिता, सेवा सुधार, नागरिकको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग एकापसमा प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ छ ।

उनले स्रोत अभावभन्दा पनि खर्चको उपयोगिता, कार्यान्वयन क्षमता र आर्थिक सुशासन कमजोर हुनु मुख्य समस्या भएको उल्लेख गरे । ‘शिक्षा तथा स्वास्थ्यको पहुँचमा प्रभावकारी नहुँदा नागरिकबाट गुनासो आइरहेका छन् । सडक बनेका छन्, तर यसको दिर्घकालिन टिकाउमा प्रश्न उठिरहेको छ ।, यसले खर्चको अभाव होइन, उपयोगिता र गुणस्तरको आभाव रहेको संकेत गर्छ । सार्वजनिक खर्चको सदुपयोग भएन, आर्थिक सुशासन कायम भएन भन्ने गुनासको परिमाण नै गत भदौ २३ र २४ गतेको जोन्जी आन्दोलन हो ।’

राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट संकलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अनुभूति गर्न नसकेको गुनासो रहेको उनले स्वीकार गरे । साथै मन्त्री सिन्हाले साना व्यवसायी र तल्लो तहका उद्यमीले कठिन परिस्थितिमा पनि बजार र आपूर्ति निरन्तर चलाइराखेको उदाहरण दिँदै नेपालको अर्थतन्त्रको वास्तविक आधार यही तह भएको बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आर्थिक वृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेका बताए । ‘राजनीति परिवर्तन हुने बित्तिकै अर्थतन्त्रमा ठूलो प्रभाव पर्छ । फ्रान्स, अमेरिका, जापानमा यो सम्भव छ, भनेर हामी भन्छौं, ती देशका इकोनोमीले हाम्रो देशमा काम गर्र्दैन । अर्थतन्त्रमा हाम्रो आफ्नै किसिमको मौलिकता छ । यही विशिष्ट किसिमको विशेषताले नै अर्थतन्त्र माथि उकास्न राजनीतिक स्थिरता चाहिन्छ । तर यो हामीले अहिलेसम्म देख्न पाएका छैनौं’, उपाध्यायले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस