पुनरुत्थान र पुनर्निर्माणमा सरकारको प्रयासले आशा जगायो : अर्थमन्त्री खनाल

अनलाइनसमय |
३ पुष २०८२
पुनरुत्थान र पुनर्निर्माणमा सरकारको प्रयासले आशा जगायो : अर्थमन्त्री खनाल

काठमाडौं, ३ पुस । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

खनालले भने, ‘भदौ २३ र २४ को घटनापछिको एक हप्तामा जुन हिसावले नेपालीहरुले अनुमान गरेका थिए, नेपाल एउटा अनिश्चयको भुमरीमा फस्यो । अर्थतन्त्र ध्वस्त हुन्छ, नागरिकले बिचल्लीको अवस्था भोग्नुपर्छ भन्ने त्यो परिदृश्यबाट हामी ९० दिनकै अवधिमा निकै चाँडो गतिले हामी पुनरुत्थानको बाटोमा, पुनर्निर्माणको बाटोमा र आशा जगाउने बाटोमा अघि बढेका छौँ ।’

यस्तै उनले सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताए । ‘नेपालको इतिहासमा सर्वाधिक पर्यटक आगमन अक्टोबर २०२५ मा भएको छ । अंग्रेजी वर्षको अन्तिमा आइपुग्दा यो वर्षकै सबैभन्दा बढी पर्यटनको आगमन होला कि जस्तो भएको छ’, अर्थमन्त्री खनालले भन्नु भयो, ‘‘यो तथ्याङ्क हेरेपछि नेपाल जुनसुकै सङ्कटबाट पनि पुनर्उत्थानमा चाँडै जान्छ भन्ने ठानेको छु ।’

खनालले सरकारको कच्चा पदार्थको आयातको तथ्याङ्कले उत्पादन बढेको र उपभोग्य वस्तुको आयतले उपभोग र आयात बढेको जानकारी जानकारी दिए । भदौ महिनामा थोरै ह्रास भए पनि असोज, कात्तिक र मङ्सिरमा आइपुग्दा कर र राजस्व वृद्धि भएको उहाँले प्रष्ट पार्नु भयो । उपभोग र उत्पादन एक हदसम्म बढ्दै गएको उनको विश्वास छ ।

त्यस्तै, दुई दिन अगानी चिनियाँ लगानी कर्ताको सम्मेलनमा सहभागी भएको जानकारीसमेत उनले गराए । उनले अन्तरिम सरकारले गरेका सुधारको प्रशंसा गर्दै चिनियाँ लगानीकर्ता लगानी गर्न उत्साहित भएको बताए । ‘सङ्कटपछि लगानीको वातावरण सुधार भएको छ । उत्पादनशील गतिविधि बढाउनका निम्ति पर्याप्त काम नभएको महसुस मैले गरेको छु । हामीले यसको समाधानसमेत सोधेका छौँ’, उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस