काठमाडौं, ३ पुस । कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयमा दुईदिने ‘युनिग्लोब साइन्स एक्स्पो 2.o’ सुरु भएको छ । विद्यालयको साइन्स क्लबद्वारा आयोजना गरिएको उक्त एक्स्पो आज बिहान ६ः३० बजेदेखि सुरु भई भोलिसम्म विद्यालय परिसरमै सञ्चालन हुन लागिएको हो ।
विद्यार्थीहरूमा वैज्ञानिक सोच, नवप्रवर्तनशील क्षमता र सिर्जनात्मकता अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डा. गणेश रेग्मीले बताए ।
प्रदर्शनीमा विभिन्न कक्षामा अध्ययनरत ७० भन्दा बढी समूहका विद्यार्थीहरूले अनुसन्धान र नवप्रवर्तनमा आधारित आफ्ना परियोजनाहरू प्रस्तुत गर्दैछन् । विज्ञान संकायका निर्देशक डिल्लीराम उप्रेतीका अनुसार जीव विज्ञान, रोबोटिक्स, व्यावहारिक गणित, भौतिक विज्ञान तथा रसायन विज्ञानसम्बन्धी परियोजनाहरू प्रदर्शनमा राखिएका छन् ।











