काठमाडौं, ३ पुस । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले ११ करोड ८५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाको सबै वडा र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिकाको वडा नं. १, २, ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै, कम्पनीले १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।