
काठमाडौं, ३ पुस । काठमाडौंको कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको दुईदिने ‘युनिग्लोब साइन्स एक्स्पो 2.o’ आजदेखि सुरु भएको छ । विद्यालयको साइन्स क्लबको आयोजनामा आज बिहान ६ः३० देखि सञ्चालन भइरहेको उक्त एक्स्पो भोलिसम्म विद्यालय परिसरमा आयोजना हुने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता तथा वैज्ञानिक सोचको विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डा. गणेश रेग्मीले जानकारी दिए ।
प्रदर्शनीमा विभिन्न तहमा अध्ययनरत ७० भन्दा बढी समूहका विद्यार्थीहरूले आफ्ना अनुसन्धान तथा नवप्रवर्तनमा आधारित परियोजनाहरू प्रस्तुत गर्नेछन् । विद्यालयका विज्ञान संकायका निर्देशक डिल्लीराम उप्रेतीका अनुसार परियोजनाहरू जीव विज्ञान, रोबोटिक्स तथा व्यावहारिक गणित, भौतिक विज्ञान र रसायन विज्ञान गरी तीन प्रमुख विधाअन्तर्गत प्रदर्शन गरिनेछ ।अनुसन्धानात्क सिकाइलाई प्राथमिकता दिइएको यस प्रदर्शनीले विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत विद्यार्थीहरूलाई अनुसन्धान, समस्या समाधान, विश्लेषणात्मक सोच र प्रस्तुतीकरण क्षमताको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रदर्शनीमा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीसहित करिब ३ हजार आगन्तुकको सहभागिता रहने विद्यालयको अनुमान छ । भोली परियोजनाहरूको औपचारिक प्रस्तुतीकरण तथा बाह्य विज्ञ निर्णायकहरूद्वारा मूल्यांकन गरिनेछ । प्रदर्शनीमा सहभागी सर्वोत्कृष्ट, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने परियोजनालाई नगद पुरस्कार, प्रमाण–पत्र तथा मेडलद्वारा सम्मान गरिनेछ