काठमाडौं, २ पुस । एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमबीच सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो । यस्तो सहायता नीतिमा आधारित ऋणका रूपमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
उक्त ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपछि १.५ प्रतिशत रहनेछ ।
ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारको स्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए ।
सम्झौतामा हस्ताक्षरपछि एडीबीका नेपाल निर्देशक कुश्वा तथा अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ । यसले वित्तीय अनुशासन कायम राख, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।’