काठमाडौं, १ पुस । सरकारले यस वर्षका लागि लिइएको वार्षिक लक्ष्यको २७ दशमलव ४५ प्रतिशत राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनामा (मंसिर मसान्तसम्म) सरकारले ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ६५ प्रतिशतले बढी हो । गत वर्ष यसै समयमा ३ खर्ब ९९ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालू आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य छ ।
राजस्वको मुख्य स्रोत बनेको कर राजस्वमा केही सुधार देखिएको छ । कर राजस्व ५.१४ प्रतिशतले बढेर ३ खर्ब ८२ अर्ब रूपैयाँमा पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर ३ खर्ब ६२ अर्ब रूपैयाँ संकलन भएको थियो ।
त्यस्तै गैर– कर राजस्व लक्ष्यको १५.५९ प्रतिशत अर्थात २४ अर्ब ७ करोड रुपैयाँ संकलन गरेको छ । पाँच महिनामा ५ अर्ब १२ करोड रुपैयाँ अनुदान प्राप्त गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारको विकास खर्च कमजोर देखिएको छ । चालू आवको पाँच महिना बितिसक्दा पनि सरकारले विकास खर्च लक्ष्यको ८ दशमलव ३ प्रतिशत मात्रै गरेको छ । मंसिरसम्ममा पूँजीगत खर्च ३३ अर्ब ८७ करोड रुपैयाँ मात्रै भएको छ । सरकारले यस वर्षका लागि पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
चालूगत शीर्षकमा मंसिर मसान्तसम्म वार्षिक लक्ष्यको ३३ दशमलव ७ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब ४ करोड रुपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ । यस वर्षका लागि सरकारले चालूगत खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ३५ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा यस वर्षका लागि ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १ खर्ब ३२ अर्ब ५३ करोड रुपैयाँ बराबर खर्च भएको छ ।