विदेशी मुद्रा सञ्चिति ३०.५५ खर्ब पुग्यो, १७.४ महिनाको आयात धान्न पर्याप्त

अनलाइनसमय |
२९ मंसिर २०८२
विदेशी मुद्रा सञ्चिति ३०.५५ खर्ब पुग्यो, १७.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं, २९ मंसिर । विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८२८३ को पहिलो चार महिनासम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जुन असार मसान्त यता १४.१ प्रतिशतले वृद्धि हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २७ खर्ब २४ अर्ब ६६ करोड सञ्चिति रहेका छ । गत असार मसान्तमा यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा थियो ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई रु.३३० अर्ब ८५ करोड कायम भएको छ ।

आव २०८२÷८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनकोअनुपात ५०.० प्रतिशत, कुल आयात १४४.९ प्रतिशत र विस्तृत मुद्राप्रदाय ३७.८ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस