काठमाडौं, २९ मंसिर । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने समयसीमा आज सकिँदैछ । बैंकले मंसिर २५ गतेदेखि उक्त आईपीओको निष्काशन तथा बिक्री खुला गरेको थियो ।
बैंकले जारी पूँजीको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्काशनका लागि अनुमति पाएको छ, जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ लाख २३ हजार ८८० कित्ता शेयर जारी गरिनेछ ।
कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि छुट्याइएको बैंकले जनाएको छ । सो शेयरको कुल मूल्य १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँ बराबर रहेको छ ।
यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता देखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।