काठमाडौं, २८ मंसिर । पछिल्लो चार महिनामा साढे आठ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू (आव) २०८२८३ को कात्तिकसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८६ लाख १ हजार पुगेका छन्, जुन गत असार मसान्तको तुलनामा ३ दशमलव १० प्रतिशतले बढी हो । गत आवको अन्तिम महिना असारसम्ममा यस्तो प्रयोगकर्ता २ करोड ७७ लाख ४१ हजार हजार रहेका थिए । अर्थात चार महिनामा यस्तो प्रयोगकर्ता ८ लाख ६० हजार २०४ जना थपिएका छन् ।
पछिल्लो एक वर्ष अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ११ दशमलव ०३ प्रतिशतले बढेको छ । गत आवको कात्तिकसम्ममा यस्तो प्रयोगकर्ताको सङ्ख्या २ करोड ५७ लाख ५८ हजार थियो ।
यस्तै चालू आवको चार महिनासम्ममा इन्टरनेट बैंकिङ सेवा २३ लाख २६ हजार १९८ प्रयोगकर्तामा पुगिसकेको छ, जुन असार मसान्तयता १३ दशमलव ५० प्रतिशतले धेरै हो । गत आवको अन्तिमसम्ममा २२ लाख १९ हजार ३४१ प्रयोगकर्तामा इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ३६ लाख ६५ हजार रहेकोमा चालू आवको कात्तिक अन्तिमसम्म आइपुग्दा १ करोड ३८ लाख ४९ हजार पुगिसकेको छ ।
कात्तिकसम्ममा क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख १८ हजार ७९ र २ लाख ६३ हजार ८६० पुगेको छ । सो अवधिमा ५ हजार २६८ एटिएम रहेका छन् ।
हाल ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ५२९ वटा शाखा कार्यालय छन् । सो अवधिमा ६ करोड ८ लाख ७१ हजार १३३ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।