काठमाडौं, २४ मंसिर । नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्ट ३ मा भएको दोहोरो कर मुक्ति सम्झौता खारेज गरेको छ ।
नेपालको तर्फबाट आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले बुधबार कूटनीतिक माध्यमबाट डीटीएएको धारा २९ उपधारा १ बमोजिम सम्झौता खारेजबारे जानकारी दिएका हुन् ।
विभागले आज एक विज्ञप्ति जारी गरेर उक्त सम्झैता खारेज भएको जानकारी दिंदै घरेलु कानुन र विश्वव्यापी कर वातावरणमा भएका परिवर्तनहरूसँग आफ्नो अन्तर्राष्ट्रिय कर संरचनालाई एकरूप बनाउन आवश्यक भएकोले खारेज गर्ने निर्णय गरिएको जनाएको छ ।
नेपालले लागू गरेको आयकर ऐन, २०५८ ले आधुनिक कर दुरुपयोग रोकथामका प्रावधान समेटेकाले पुरानो सम्झौता अब वर्तमान कानुनी संरचनासँग मेल नखाने उल्लेख गरिएको छ ।
मौरिसससँग आर्थिक तथा कर सहयोगलाई निरन्तर प्रवद्र्धन गर्ने, नयाँ र आधुनिक दोहोरो कर मुक्ति सम्झौता तथा लगानी संरक्षण सम्झौता गर्न वार्ताको सम्भावना खुला रहेको विज्ञप्तिमार्फत भनिएको छ ।
उक्त सम्झैताको खारेज आगामी आर्थिक वर्ष २०८३/८४ को साउन १ गते देखि कायम हुनेछ ।
