काठमाडौं, १७ वेशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी छुट्ने भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाएसँगै उनी छुट्ने भएका हुन् ।
यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्नू भनी पत्र काट्ने महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।