काठमाडौं, १७ वैशाख । भारत र पाकिस्तानबीचको तनाव अझ चर्किंदै गएको छ । बुधबार बिहान पाकिस्तानका एक शीर्ष अधिकारीले भारतले छिट्टै पाकिस्तानमाथि सैन्य कारबाही गर्ने ‘विश्वसनीय सूचना’ आफूहरूसँग रहेको दाबी गरेका छन् ।
अमेरिका र चीन दुबै देशले संयमता अपनाउन आग्रह गरिरहेका बेला पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले मध्यरातमा एक्समा पोस्ट गर्दै भने, ‘भारत पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्ने विश्वसनीय जानकारी पाकिस्तानसँग छ ।’ उनले यो दाबीको आधारबारे भने केही खुलाएका छैनन् ।
तरारको यो दाबी भारत—प्रशासित कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि आएको हो । सो आक्रमणमा नेपालका सुदिप न्यौपालेसहित २६ जना मारिएका थिए । भारतले उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन पाकिस्तानले अस्वीकार गर्दै आएको छ । यद्यपि निष्पक्ष छानबिनको प्रस्ताव अघि राखेको छ ।
कश्मीर–विश्वकै सबैभन्दा संवेदनशील संघर्ष क्षेत्रहरूमध्ये एक–भारत र पाकिस्तानले आ-आफ्नो नियन्त्रणमा राखेका छन् तर दुवै देशले कश्मीरलाई आफ्नो भूभाग मान्छन् । बेलायतबाट स्वतन्त्रता पाएको करिब ८० वर्षदेखि दुई देशबीच तीनपटक युद्ध भइसकेको छ । हाल कश्मीरमा ‘लाइन अफ कन्ट्रोल’ भनिने अस्थायी सिमा छ ।
गत हप्ता भएको पर्यटक हत्याकाण्डले भारतभरि आक्रोश फैलिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बलपूर्वक प्रतिशोध लिन दबाब बढेको सीएनएनले उद्धत गर्दै लेखेको छ ।
२०१९ मा भारतीय सैनिक फौजमाथि भएको आक्रमणपछि भारतले पाकिस्तानभित्रै छिरेर हवाई हमला गरेको थियो । यो सन् १९७१ को युद्धपछि पहिलोपटक भारतीय फौजले पाकिस्तानको भूमिमा प्रवेश गरेको घटना थियो ।
यो पटक पनि भारतबाट त्यसैगरी जवाफी हमला हुन सक्ने अनुमान गरिएको छ । मोदीले अघिल्लो हप्ताको एक उत्तेजक भाषणमा आक्रमणकारीहरूलाई ‘पृथ्वीको जुनसुकै कुनासम्म पनि खोजेर कारबाही गर्ने’ चेतावनी दिएका थिए । त्यसयता भारत र पाकिस्तानबीच आरोप-प्रत्यारोप र आक्रोशले परिस्थिति झन चर्किंदै गएको छ ।
सीएनएन